उच्च अदालतको फैसलाप्रति थरुहट राष्ट्रिय मोर्चा असन्तुष्टः टिकापुर घटना
धनगढी, टिकापुर घटना सम्बन्धी मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला प्रति थरुहट थारुवान् राष्ट्रिय मोर्चा कैलालीले असन्तुष्टि जनाएको छ ।
मोचाले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दैे उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य रेसम चौधरी लगायतको मुद्दामा राजनैतिक पूर्वाग्रही ढङ्गले फैसला गरेको आरोप लगाएको छ । राजनीतिक पूर्वाग्रह राखी फैसला गरेको प्रति हाम्रो आपत्ति रहेको छ । मोर्चा कैलालीका संयोजक माधव चौधरीले भने, उच्च अदालतको फैसला प्रति हामीले गम्भीर खेद प्रकट गरेका छौँ ।
टीकापुर मुद्दालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनले बताएका छन् । यदि राजनितिकरुपले समाधान नभए राज्य विरुद्ध सशक्त सघर्षमा उत्रिने उनले चेतावनी दिएका छन् । जनता समाजवादी पार्टी कैलालीका अध्यक्ष गया प्रसाद कुश्मीले टीकापुर घटना राजनीतिक आन्दोलन रहेको बताए ।
पहिचान सहितको सङ्घीयता हुनपर्छ भन्ने माग राख्दै थारुहट आन्दोलन गरिएको भन्दै उक्त आन्दोलनका क्रममा घटेको घटनालाई राजनीतिकरुपले समाधान गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दा राजनीतिक मुद्दा हो उनले भने राजनेताहरूले राजनैतिक रूपमै सम्बोधन गरेर यसको निकास निकाल्नुपर्छ ।
थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार कृष्ण थारुले राज्यले थारुहरूमाथि दमन गरेको बताए । न्यायको लडाइ जारी राख्दै सर्वोच्च अदालत जाने उनले बताए । ‘यदि सर्वोच्च अदालतबाट पनि न्याय नपाए हामी आन्दोलनको घोषणा गर्छौ उनले भने ।
उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको हो । यो फैसलाले केहीको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसलालाई सदर गरेको छ । भने केही प्रतिवादीको हकमा उल्टिएको देखिएको छ।
बिहीबार उच्च अदालत दिपायलले प्रतिनिधि सभा सदस्य रेसमलाल चौधरी सहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो। अदालतले थप एक जनालाई पनि जन्मकैदको सजाय सुनाएको छ। टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

