अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाई नहुने

काठमाडौं, सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज शुक्रबार सुनुवाई नहुने भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रहेका ती दुबै रिट शुक्रबार हेर्न नभ्याइने उल्लेख गरिएको छ ।

रिटमा अधिवक्ताद्वयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र परिषद् सदस्य रहेका प्रधानन्यायाधीशलाई विपक्षी बनाएका छन् ।