संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ, संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएपछि आज साँझका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

भेटमा प्रचण्डले आपत्ति जनाउँदै स्थगित गर्नु सुझाएपछि बैठक स्थगित भएको बताइएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ५ः३० बजे परिषद्को बैठक बोलाएका थिए ।

सरकारले हालै जारी गरेको विवादित संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा नेकपालगायत प्रतिपक्षी दलले समेत विरोध जनाएपछि प्रधानमन्त्री ओलीले बुधबार फिर्ता लिने बताएका थिए । तर, फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले आज पुनः बैठक बोलाउने बित्तिकै प्रचण्ड बालुवाटार पुगेका थिए ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।