ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाए

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संवैधानिक परिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएसँगै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ः३० बजे बैठक तय गरेका हुन् ।

यसअघिका बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।आजको बैठकमा पनि देउवा सहभागी हुने नहुने निश्चित छैन । संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।