ओली र दाहालबीच पुनः भेटवार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्ष फेरि छलफल जुटेका हुन् । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् । अध्यक्षद्वयबिच केहीसमयअघि मात्र पनि वान टु वान वार्ता भएको थियो ।

बैठकको कार्यसूचिअनुसार आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । यसलाई ओलीले आफूविरुद्धको लाञ्छना पत्रमा सहभागिता नहुने बताउँदै आएका थिए । प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटीमा ७ दिनको समय दिइएको थियो । यसअघि गत २८ गते बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।

यस्तै, पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको छ । हाल सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। यसबाट स्थायी कमिटी बैठक प्रभावित भएको छ ।