कांग्रेस संवैधानिक परिषद्मा सहभागी हुँदैनः नेता केसी

कास्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जनाएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र विधानसँग मात्र उत्तरदायी, स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यतामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रमुख प्रतिपक्षको नेतालाई सम्मिलित गरेर संवैधानिक परिषद्को व्यवस्था गरिएको बताएका छन् ।

नेता केसीले भने, संवैधानिक परिषद्मा छ जनाको व्यवस्थासहित चारजनाको कोरम पु(याउने र निर्णय सर्वसम्मत गर्ने व्यवस्था तोडेर आएको अध्यादेशले प्रजातान्त्रिक मूल्यमान्यता र लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाएको छ ।पार्टीका पूर्वसहमहामन्त्री केसीले जनताले कांग्रेसलाई ५ वर्ष प्रमुख प्रतिपक्षको भूमिका दिएकाले सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

कांग्रेसका लागि १४औँ महाधिवेशन सम्पन्न गर्नु प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले एकडेढ वर्षभित्र विधिवत् अधिवेशन गर्ने गरी पुरानै महाधिवेशनबाट निर्वाचित सदस्यबाट फागुनभित्रमै महाधिवेशन सम्पन्न गर्ने बारेमा सोच्नुपर्ने आवश्यकता रहेकाले आफूले केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान लागेको जानकारी दिए ।