नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै नेताहरु चिढिएका छन् । त्यहीँ विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन् । यसै विषयलाई लिएर ओली बैठकमा सहभागी नभएको स्रोतको दावि रहेको छ ।
यस्तै, बैठकको कार्यसूचिअनुसार आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । यसलाई पनि ओलीले आफूविरुद्धको लाञ्छना पत्रमा सहभागिता नहुने पनि बताउदै अँएका छन् । प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटीमा ७ दिनको समय दिइएको थियो । यसअघि गत २८ गते बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।