मालपोतमा राजश्व हिनामिना
भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो । लेखा अधिकृत रिठ्ठे दर्जी, लेखापाल बलराम सापकोटा तथा नासु मनोज निरौलाविरुद्ध आयोगले मुद्दा दर्ता गरेको हो ।
तीन जनाविरुद्ध छुट्टा छुट्टै विगो र सजाय माग गरी मुद्दा दायर गरिएको छ ।
सबैभन्दा धेरै लेखा अधिकृत दर्जीले हिनामिना गरेको आयोगले बताएको छ ।उनले सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ हिनामिना गरेका थिए । कार्यालयले उठाएको राजश्व बैंकमा दाखिला गरेको देखाउन उनले बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेका थिए । आन्तरिक लेखापरीक्षका क्रममा पैसा बैंकमा नदेखिएपछि उनले दुई करोड ५८ लाख तीन हजार दुई सय ३१ रुपैयाँ दाखिला गरेका थिए । बाँकी ४ करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल हुनुपर्ने मागसहित उनीविरुद्ध मुद्दा दायर भएको छ ।
लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझेको ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले उनी उपर जेल सजाय र सो राजश्व असुलरउपरको मागसहित मुद्दा दायर भएको छ ।नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व ४ लाख ७१ हजार ६ सय १८ रुपैयाँ मिनामिना गरेका थिए ।