नारायणकाजी र कमानसिंहको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे प्रष्ट पारेका छन् । 

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको जनाएका हुन् ।प्रचण्डले लामाको हाइड्रो पावरको सेयरका विषयमा श्रेष्ठले समन्वय मात्रै गरेको बताएका छन् । उनले अनावश्यक प्रचारको भ्रममा नपर्न पनि आग्रह गरेका हुन् ।

मंसिर २४ गते कोरोना संक्रमणबाट ज्यान गुमाएका लामाको आर्थिक मामिलामा श्रेष्ठ मुछिएका थिए । श्रेष्ठ र लामाको आर्थिक लेनदेनमा आधारित कुराकानीको अडियो र भिडियो सामाजिकसञ्जाल तथा केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । श्रेष्ठमाथि करोडौँ घोटला गरेको आरोप छ । अब स्थायी कमिटीको अर्को बैठक पुस १ गते १ बजे बस्नेछ ।