नेकपा स्थायी कमिटी बैठक पुस १ गतेसम्म स्थगित

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पूर्व राजदूत एवम् पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका हुन् । लामाको गएको मंसिर २४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । यसअघि मंसिर २१ गतेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने भन्दै बैठक बहिस्कार गरेका थिए ।

प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटीमा ७ दिनको समय दिइएको थियो । अब अर्को बैठक पुस १ गते १ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।