सरकार बिरुद्ध सडकदेखि संसदसम्म चर्को दबाब दिन्छौँः देउवा
काठमाडौँ , कांग्रेस सभापति शेरबहादुर देउवाले अब सडकदेखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिदैछ । जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्ने तयारी गरिरहेको छ । प्रतिपक्षी भूमिकामा भएपनि सडकदेखि सदनसम्म कांग्रेस सत्ता साझेदारझैँ देखिएको भन्दै पार्टी भित्रैबाट सभापति देउवाको विरोध हुदै आएको छ ।
प्रतिपक्षीको थलो भनिएको संसद पाँच महिनादेखि बन्द जनताको पक्षमा आफ्नो आवाज बोल्न नसकेको कांग्रेसले सरकारका गलत गतिविधिका विरुद्ध सोमबार ७७ वटै जिल्लामा सडक प्रदर्शनगर्ने तयारी गरेको छ । सभापति देउवाले कोरोनाको संक्रमण फैलिन नदिन सचेतना अपनाएर सडक प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरी कायम राख्न र मास्क प्रयोग प्रभावकारी गराउन आग्रह गरेका छन् ।
देउवाले मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको कांग्रेस अहिले प्रतिपक्षको हैसियतमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको दाबी गरेका छन् । प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो,देउवाले विज्ञप्तिमार्फत भनेका छन्, यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।
जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको देउवाको भनाइ छ । जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? देउवाले प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले शक्ति सबै आफ्नो कार्यालयमा थुपारेर जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्नुले अधिनायक आकांक्षालाई पुष्टि गरेको बताएका छन् ।
‘तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ, विज्ञप्तिमा उल्लेख छ । देउवाले ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको बताएका छन् । उनले सरकारले कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नबनाउँदा सयौंको मृत्यु भएको, हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको, ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बनेको बताएका छन् ।
‘कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठुला उधोगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा ।
शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन् विज्ञप्तिमा लेखिएको छ । यी सबैको पिडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ । विज्ञप्तीमा थप उल्लेख छ ।उनले कांग्रेसले नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अझ प्रखर ढंगले मुखरित गर्ने बताएका छन् ।