नेकपा स्थायी कमिटी बैठक बालुवाटार सर्यो
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ । यसअघि मंसिर २१ गतेको बैठक धुम्बाराहीमा बसेको थियो ।
आजको बैठकमा पूर्व राजदूत एवम् पूर्व सांसद लामाको निधनमा शोक प्रस्ताव पेश हुनेछ र शोक प्रस्ताव पारित भएसँगै बैठक स्थगित गर्ने बताइएको छ । लामाको गएको मंसिर २४ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । यसअघिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् ।
उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने भन्दै बैठक बहिस्कार गरेका थिए ।प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए ।