संवैधानिक परिषदको बैठक स्थगन

काठमाडौँ, संवैधानिक परिषदको बैठक स्थगन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजेका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि स्थगन भएको हो ।

कांग्रेसले सोमबार सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने भन्दै देउवाले प्रधानमन्त्री ओलीलाई सन्देश पठाएका थिए ।संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ।

उपसभामुख पद लामो समयदेखि रिक्त छ । बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ ।संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफलका लागि बैठक बोलाइएको थियो ।