बिना गृहकार्य स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बिना गृहकार्य आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि मंसिर २१ गते बैठक बसेको थियो । आज बस्ने बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य पर्याप्त भएका छैनन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । सचिवालय बैठकले दुवै अध्यक्षले प्रस्तुत गरको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । उक्त प्रतिवेदन अध्ययनका लागि स्थायी कमिटीमा ७ दिनको समय दिइएको थियो । आजको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुने कार्यसूचि छ ।

मंसिर २१ गतेको बैठकमा एक पत्र पठाउँदै प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । उनले पत्रमा प्रचण्डको प्रस्तावमाथि औपचारिक रुपमा छलफल गर्न नसकिने उल्लेख गरेका थिए । तर, आजको बैठकमा उनी सहभागी हुन लागेको स्रोतले बताएको छ । नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद जारी छ ।