भारत पश्चिमा शक्तिको गोटी बनेको रुसको आरोप

एजेन्सी, रुसका विदेशमन्त्री सर्गेइ लावरोबले क्वाड समूहप्रति कठोर टिप्पणी गर्दै भारत पश्चिमा देशको गोटी बनेको आरोप लगाएका छन्। उनले भारत चीनविरुद्ध पश्चिमा देशले तयार पारेको आक्रामक र छलपूर्ण नीतिको गोटी बनेको बताएका हुन्।मंगलबार रुसी अन्तर्राष्ट्रिय मामिला काउन्सिलको बैठकलाई सम्बोधन गर्ने क्रममा लावरोबले भारतविरुद्ध तिखो टिप्पणी गरेका हुन्। बैठकमा उनले भने‚ ‘पश्चिमाहरू एक ध्रुवीय विश्व कायम गर्न चाहन्छन्। तर‚ रुस र चीन पश्चिमको मातहत रहने सम्भावना कमै छ। भारत अहिले इन्डो–प्यासिफिक क्षेत्रमा क्वाडजस्तो पश्चिमा देशले तय गरेको चीन विरोधी नीतिको मोहरा बनेको छ।’

क्वाड समूह भनेर चिनिने चार प्रजातान्त्रिक देशको समूहमा अमेरिका‚ भारत‚ अष्ट्रेलिया र जापान छन्। व्यापार वृद्धि र क्षेत्रीय शान्तिका लागि पहल गर्न स्थापित भनिए पनि उक्त समूहमाथि चीनलाई घेर्ने नीति लिएको आरोप लाग्दै आएको छ।

लावरोबले पश्चिमा देशहरू रुस र भारतको सम्बन्ध कमजोर पार्न प्रयत्नरत् रहेको आरोप पनि लगाए। उनले यसअघि पनि क्वाडविरुद्ध कठोर टिप्पणी गर्दै आएका थिए। भारतले लावरोबको पछिल्लो वक्तव्यबारे औपचारिक प्रतिक्रिया दिएको छैन। चीनसँगको निकट सम्बन्धका कारण रुसले यस्तो टिप्पणी गर्ने गरेको भारत पक्षको बुझाइ छ।