ओली प्रचण्डबीच बालुवाटारमा भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए ।
करीब सवा घण्टा भएको भेटबार्तामा अध्यक्षद्वयको भेटमा पछिल्ला पार्टीमा देखिएका आन्तरिक विवादका सम्बन्धमा छलफल भएको स्रोतले जनाएको छ । तर छलफलले कुनै निष्कर्ष निकालेको छैन । आजको भेटले दुई अध्यक्षबीच संवाद सुरु भएको रुपमा हेरिएको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीलाई लक्षित गर्दै १९ पृष्ठ लामो एकल प्रतिवेदन प्रस्तुत गरे पछि ओलीले मंसिर १३ गते बसेको सचिवालय बैठकमा ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना आएको छ।यसअघि २० मंसिरमा अध्यक्षद्वय भेटवार्ता भएको थियो । जुन २५ कात्तिकपछिको पहिलो संवाद थियो ।