बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन पनि बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सर्बदलीय बैठक बोलाएका हुन् ।ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यसयता सर्वदलीय बैठक भएको थिएन ।

पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । सर्वदलीय बैठकमा यही विषयमा छलफल हुने बुझिएको छ ।