चोरी गर्नका निम्ति ग्राहक बनेर पसल चाहर्ने गिरोह पक्राउ

रौतहट, पसलमा ग्राहक बनेर आउने अनि चोरी गर्ने गिरोहका दुई जना सदस्यलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना भारतिय नागरिक रहेको खुलेको छ । उक्त समुहले गरुडा नगरपालिका ८ स्थित विर्ता चोकमा रहेको पप्पु साहको कुन्ती हार्डवेयर पसलमा समान खरिद गर्न आएको वहानामा नक्कलि ग्राहक बनेर पसलको घर्राबाट ५ लाख चोरेर भागेका थिए ।

चोरी गरेर विआर ३० जेड ५६७३ नम्बरको भारतिय नम्बर प्लेटको हिरो मोटरसाइकल चढेर भाग्न लाग्दा प्रहरी टोलीले पिछा गरेर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेहरुमा भारतको सितामढी पोष्ट गम्हरिया भटा बढहवी थाना सुपी ग्राम रामनगरा वडा नम्बर ६ बस्ने पवन साहको छोरा १९ वर्षीय मुन्ना साह सोनी र एक १४ वर्षीय नाबालक रहेको र उनीहरुको साथबाट मोटरसाइक सहित ५० हजार नगद पनि वरामद भएको इलाका प्रहरी गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिएका छन् । सोही समुहमा रहेका अर्का एकजना भने ४ लाख ५० हजार नगद सहित भाग्न सफल भएकोमा उनको खोजी कार्य तिव्र बनाइएको डिएसपी रावलको भनाइ छ ।

उनीहरुले समुह बनाएर आउने र पसलमा बस्ने पसलेलाई विभिन्न कुरामा अल्झाएर ध्यान भंग गरेर उनीहरुले चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी रावलले बताए ।

पक्राउ परेका दुबैजनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान गर्नलाई रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको र उनीहरुले यसअघि कुनकुन स्थानमा चोरी गरेका रहेछन् सो बारे पनि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पछिल्लो समय गरुडा प्रहरी प्रमुख भएर आएका डिएसपी रावलको सक्रियताबढेसंगै अपराधिक घटनाका दोसिहरु क्रमशः पक्राउ पर्दै आईरहेका छन् साथै अपराधका घटनाहरू पनि नियन्त्रण हुदै आएको हुदाँ शान्ति सुरक्षाको अनुभुति गर्न पाएको स्थानियहरु बताउछन् ।