एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन
धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका हुन् । उनले नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा रिले अनसन सुरु गरेको बताएका छन् ।
पार्टी विभाजन हुनबाट रोक्नु पर्ने भन्दै अनसन बसेको उनले बताएका हुन् । उनले भने अहिले सबै कार्यकर्ताहरूले नेतालाई दबाब दिन आवश्यक छ । नेताहरूले व्यक्तिगत,पारिवारीक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने उनले माग राखेका छन् । सचिवालयबाट स्थानीय कमिटीमा लैजाने निर्णय गरिएको दुवै अध्यक्षहरूको प्रतिवेदन फिर्ता लिएर छलफल चलाउनु पर्ने समेत उनको माग रहेको छ ।
पार्टी एकताको बाँकी काम अगाडी बढाएर महाधिवेशन सम्म लिनुपर्ने समेत उनले माग राखेका छन् । सङ्घीयता गणतन्त्र र आन्दोलनको रक्षाको लागि पार्टी एकबद्ध हुनुपर्ने माग राखेको छु उनले बताए । प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म अनसन बस्ने उनले जानकारी दिए । उनी प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेशका सदस्य तथा पत्रकार महासङ्घ डडेलधुराका सह–सचिव समेत हुन् ।