काँग्रेस नेता पौडेल रिहा

काठमाडौं, नेपाली काँग्रेसl वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताए । उनले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाएका थिए । पौडेलले बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराए ।

आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।

‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्तत: लोकतन्त्रलाई नै आघात पुर्‍याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ,’ उनले भने, ‘लोकतन्त्र अपमानित छ । आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ ।