नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली सहभागी नहुने

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ ।हिजो निकै तनावपूर्ण रुपमा सकिएको सचिवालय वैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने जनाइएको छ । तर बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने हिजो (मंगलबार) नै बताइसकेका छन् ।

मंगलबारको बैठकमा प्रचण्डले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडि बढ्ने बताए लगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षप गरेका थिए ।तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए । त्यसलगत्तै ओली प्रतिरक्षात्मक बनेकाले आज (बुधबार) को बैठकमा आफू नआउने बताएका थिए । पार्टीका मुख्य अध्यक्ष नै वैठकमा सहभागी नहुने बताइसकेपछि आजको सचिवालय वैठक कसरी अगाडि बढ्छ भन्नेबारे अन्योल बढेको छ ।

कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल शुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल शुरु भएको हो । बैठकमा अध्यक्षद्वयले आ–आफ्नो धारणा राखेपछि औपचारिक छलफल शुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए । यस्तै स्थायी कमिटी बैठक पूर्व निर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्व निर्धारित मितिमै बैठक बस्ने उनको भनाइ छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।

प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आएका छन् भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नु पर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।