नेकपामा अध्यक्ष र प्रधानमन्त्री बन्न को आउलान् ?

के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आपूm तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भएअनुसारकै दिशातिर जान्छ त जारी विवाद ?

सत्तारुढ कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रित हो ? बृद्धभत्ता पाउने ६५ बर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट शुरु हुन्छ ? महाधिवेशनबाट नेतृत्वचयन लोकतान्त्रिक विधिमै सम्पन्न गर्ने परिपाटी अंगालेको पूर्व एमाले निकट र त्यो अभ्यासमा जानै लागेका पूर्व माओवादी नेताहरु व्यक्तिगत तवरबाट मोदनाथ प्रश्रितले सन्यास लिएझैं अब नीतिगत रुपमै युवाको निम्ति ठाउँ खालि गर्न तयार होलान् ? प्रश्न अनेक छन्, उत्तर सहज छैन । यद्यपि यो विषय सचिवालय बैठकमा प्रवेश भएको छ । प्रधानमन्त्रीले राखेको प्रस्तावउपर उनीबाटै कार्यान्वयन शुरु हुन हिजोको बैठकमा मागसमेत राखिसकिएको छ ।

एकजना नेताले बताएअनुसार प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी साँच्चिकै नयाँ पुस्तालाई दिन खोजेका हुन् भने राजीनामा दिएर बैठकमा प्रस्तुत भएमा सबैले एक मिनेटमै उक्त निर्णय कार्यान्वयन गर्ने खुमलटार पक्षको तयारी छ । त्यसो गर्दा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा उनको आदर्श वचनलाई पछ्याउने कतिजना निस्किन्छन् त्यो स्वतः देखिने पनि उनले बताए ।प्रधानमन्त्रीको नयाँ पुस्तालाई सत्ता र नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अर्काे चुनाव र महाधिवेशनपछि स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङहरूलाई अघि बढाउने हो भन्दै बालुवाटार वरपरका अरु निकटस्थ पनि पर्ख र हेरको रणनीतिमा देखिन्छन् ।

तर, खुमलटार भने प्रधानमन्त्रीले ती सबै कुरा सार्वजनिक खपतको लागि बोलेकोमा ढुक्क छन् । उनीहरू भन्छन्, ‘यसअघि प्रधानमन्त्रीले सचिवालयको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएकै थियो । अहिले गौतम कुन हालतमा हुनुहुन्छ सबैले देखेकै छन् ।’समस्याको जरो मूल नेतृत्वको वैचारिक तथा राजनीतिक दृष्टिकोणमा देखिँदै गएको विचलन, मूल्य–मान्यताको अभाव र कमिटीहरूमा नियमित बैठकको अभाव रहेको बताइन्छ । त्यसैगरी सामूहिक निर्णय गर्ने परिपाटीबाट क्रमशः विचलित हुँदै जानुपनि समस्या भुसको आगो बन्नुको प्रमुख कारण हो भनिन्छ । व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यता र व्यवस्थापनबाट विचलित हुनुले पनि अहिलेको अवस्था निम्त्याएको अर्काे खेमाको आरोप छ ।

गत वर्ष गरिएको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी बाँडफाँडलाई कार्यान्वयन गर्नुको सट्टा लत्याउने काम भएपछि समस्या बल्झिनेतर्फ उन्मुख हुँदै गएको हो भनिन्छ । पार्टी निर्णयबाट टुङ्ग्याइएको कार्यकारीको जिम्मेवारीलाई प्रधानमन्त्री आफैले सञ्चार माध्यममा खुल्लमखुला चुनौती दिएर अर्को अध्यक्षलाई उपाध्यक्षको हैसियतमा राखेका थिए । पछिल्लो एक वर्षमा आयोजित सचिवालय तथा स्थायी समिति बैठकमा कुर्सी राजनीतिको नाटक मञ्चन भएकै हो ।

समस्या अर्का अध्यक्षमा पनि छ, झिनामसिना कुरामा लेनदेन गर्ने, नाता च्याप्ने, सम्झौता गर्दै अडान छाड्ने र बैठक राख्न नसक्ने । अनि आपूmले पटक पटक अवसर दिएका बादल, टोपबहादुर, लेखराजलगायतको मन जित्न नसक्ने, कहिले ओलीसँग मिलेर माधवलाई किनारा लगाउने, कहिले झलनाथ, बामदेवलाई मिलाएर ओलीहरुसँग सिँगौरी खोल्ने, ब्यापारीको स्वार्थमा प्रधानमन्त्रीसँग खुसामद गर्ने ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।