फेसबुक एकाउन्ट ह्याक गरेर अश्लिल तस्बिर देखाई ठगी गर्ने २ जना पक्राउ

बारा, फेसबुक एकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई रकम माग गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो ।

हाल उनीहरुलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।