प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता : मुख्यमन्त्री पोखरेल

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्यालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र राजीनामा माग्नु गुटगत मानसिकता भएको जनाएका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य पोखरेलले पार्टीमा देखिएको तिक्तताको मुख्य कारक प्रधानमन्त्री ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेकपामा पछिल्लो समय देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीलाई एक पक्षीय रुपमा बाधक देख्नु गलत भएको बताएका हुन् । गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव नै गलत भएको भन्दै पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध लगाइएका आरोप निराधार भएको बताउँदै आएका छन् ।

उनले यसअघि नै पार्टी एकताको मर्म र विगतको जनमत अनुसार आन्तररिक विवाद समाधान गरेर अघि बढ्नुपर्ने बताउँदै आएका छन् । आज मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा सचिवालय वैठक बस्ने तयारी भइरहेका बेला नेता पोखरेलले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।