शसर्त राजीनामाको घोषणा गर्ने तयारीमा ओली

काठमाण्डौ, सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्षबाट शसर्त राजिनामा दिने मनस्थिति बनाएका छन् । पटक पटक जिम्मेवारी लिएका नेताहरुले अब जिम्मेवारी लिन नहुने बताउंदै आएका ओलीले शसर्त राजिनामा दिने बारेमा आफू निकटका केही नेताहरुसंग कानेखुसी गरेका छन् ।

ओली निकट एक नेताका अनुसार विगतमा प्रधानमन्त्री र पार्टी प्रमुख भएका तथा ६५ वर्ष पार गरेका नेताहरुले पनि पार्टी जिम्मेवारीमा नरहने शर्तमा ओलीले राजिनामा दिने तयारी गरेका हुन् । त्यसो गर्दा अहिलेका ओली सहित मुख्य नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टी राजनीतिबाट अवकाश लिनु पर्ने बाध्यता आउन सक्छ ।

विगत केही समयदेखि पार्टीका दोस्रो पङ्तिलाई नेतृत्व हस्तान्तरण गर्ने दावि गर्दै आइरहेका ओलीले आफ्नो भनाई प्रति युवा नेताहरु उत्साहित भएको पाएपछि उनीहरुको सहानुभूति लिन र आफ्नो विरुद्धमा मोर्चावन्दी गरिरहेका प्रमुख नेताहरुको बोली वन्द गर्न राजिनामाको घोषणा गर्ने मनस्थिति बनाएका हुन् । ‘म अहिले नै नेतृत्व छोड्न तयार छु । तर तपाईहरुले आंट गर्नु पर्यो । विगतमा पटक पार्टी र सरकारको नेतृत्व गरेकाहरुलाई किन छोड्ने रु तपाईहरुले आंट्ने हो भने जति बेला भन्यो, त्यतिबेला राजिनामा दिन्छु ।

त्यसको लागि तपाईहरुले अरु नेतालाई पनि मनाउन सक्नुपर्छ’ ओलीको भनाइ उल्लेख गर्दै माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले जनतापाटीसंग भने । ओलीले राजिनामा घोषणा गरे पनि अन्य नेताहरु माधव, प्रचण्ड, झलनाथ, वामदेव राजिनामा दिन तयार हुने संभावना छैन । जसरी पनि पार्टी र सरकारको नेतृत्व पुग्न लालायित भएका उनीहरुले राजिनामा दिंदैनन् भन्ने बुझेर नै ओलीले ससर्त राजिनामाको घोषणा गर्न लागेको बुझ्न सकिन्छ । तर ओलीको यो प्रस्तावले नेकपामा मात्र होइन, नेपाली कांग्रेसको आउंदो महाधिवेशनमा समेत एउटा एजेण्डा बन्न सक्ने संभावना देखिएको छ । नेपाली कांग्रेसका युवा नेताहरुले पनि लामो समयदेखि पार्टीको पुस्तान्तरणको कुरा गर्दै आइरहेका छन् । कथंकदाचित नेकपाको नेतृत्वमा पुस्तान्तरण भयो भने त्यसले नेपाली कांग्रेसका युवा नेताहरुलाई पनि प्रोत्साहित गर्ने देखिएको छ ।