देशमा स्थिरता आउला भनेर कोही कोही अतालीएका छन्ः प्रधानमन्त्री ओली
ताप्लेजुङ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगति हेरेर तर्सिएका केही केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता लागेको बताएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा पुगेका ओलीले स्थानीयलाई सम्बोधन गर्दै भने, ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर अतालीएका छन् ।’
सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर उनीहरु आत्तिएको दाबी गरे । ओलीले थपे ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’ प्रधानमन्त्री ओलीले देशलाई गलत बाटोमा जान नदिने बताएका छन् ।पूर्व क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गरिन । उक्त रकमबाट प्रत्येकवर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई आग्रह गरिन ।ओलीले स्थानीयका हरेक माग सरकारले पुरा गर्ने बताए । हेलिकप्टरमा काठमाडौंबाट सिधै घुन्सा गएका ओलीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन गरेका थिए ।ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।
घुन्सामा जिल्ला सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्ता लगायतको टोली पुगेको छ । प्रधानमन्त्रीसँगै गएकी पत्नी राधिका शाक्यले घुन्साका बासिन्दालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोली ओलाङचुङगोला र इलामको जौबारी जाने कार्यक्रम छ ।