नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुनेः मन्त्री ढकाल

कोरोना नियन्त्रण गर्न सांसद जनताको घर घरमा जानुपर्छ

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशत कोरोना संक्रमण हुने अनुमान गरिएको छ । काठमाडौंमा आयोजित ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले अवको चार महिनामा थप करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान सरकारले गरेको बताएका हुन् ।

यस्तै, मन्त्री ढकालले सरकारले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको पनि जानकारी गराए । तर, पछिल्लो समय कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए ।

भोट माग्न गएजस्तै कोरोना नियन्त्रण गर्न पनि सांसद जनताको घर घरमा जानुपर्छ

 अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने बताएका छन् । चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोरोना रोकथामका लागि स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने उनको भनाई थियो ।