बैतडीमा ११ वटा गाई मृत फेला
धनगढी, बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेका छन । स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् । यथार्थ विवरण आउन बाँकी रहेको छ ।
तर एक स्थानीय अधिकारीका अनुसार केही व्यक्तिले ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा पछि भीरबाट खसालेको’ आशंका गरिएको छ ।जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्रमा भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएको वडा अध्यक्ष जगी साउँदले बताएका छन ।
उनका अनुसार पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले टिप्परबाट गाई खोलामा खसालेको अवस्थामा भेटिएको हो । पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिका सँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए । पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको जानकारी दिएका छन् ।
यसैबीच प्रहरी र जनप्रतिनिधीहरुको टोली गाई फालिएको स्थानमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिएका छन् । सुरेश पार्की र लक्ष्मण पार्कीको मोबाइल फोन भने बन्द रहेको छ ।