साहित्य जहिले पनि सत्यको पक्षमा हुनुपर्छ

पछिल्लो चरणमा निबन्ध साहित्य ओझेलमा परेको छ । निबन्ध साहित्य सर्वाधिक लोकप्रिय पुरानो साहित्य बिधा पनि हो । यस्तै नेपाली निबन्ध साहित्यको अबस्थाको बारेमा नेपाली निबन्ध क्षेत्रमा अमुल्य योगदान निभाई रहनु भएका भर्खरै बजारमा (लकडाउन) नामक कृतिका लेखक कोहलपुर बाँकेका श्रष्टा पुर्णिमा साहित्यिक पत्रिकाका सम्पादक तथा साहित्यकार सागर गैरेसंग हाम्रा साहित्य सम्पादक धिरेन अनुपमले गरेको साहित्यिक भलाकुसारी ।१ कुशे न्युजमा यहाँ लाई स्वागत छ ।

-धन्यबाद धिरेन जि । कुशे न्युज परिवारलाई पनि धेरै धेरै धन्यबाद ।

२ अचेल यहाँका दिनहरु कसरी ब्यतित हुँदै छन् ?

– दशैतिहार पछि केही फुर्सदिलो भएको छु । केही पठनकार्य चल्दैछ। साथिहरु सँग भेटघाट हुन्छ । धेरैजसो फोनमा कुरा हुन्छ ब्यवसाय साहित्य सबैका बारेमा समयसँग तालमेल मिलाउने प्रयास हुन्छ ।

३ तपाईं आफ्नो बाल्यकाल लाई कसरी सम्झनु हुन्छ ?

-मेरो बाल्यकालको एक हिस्सा पाल्पामा बित्यो । अर्को हिस्सा बर्दियाको ककौरामा बित्यो । पाल्पाका थोरै यादहरु सम्झनामा छन । आज म जे छु त्यसको जग बर्दियामा बनेको हो । ककौरामा मेरा धेरै साथिहरु थिए । उनिहरुले नै मेरो बाल्यकाल सुन्दर बनाईदिए । म आफ्नो बाल्यकाल सम्झेर सधै रोमान्चित हुन्छु ।

४ यहाँले साहित्य लेखन कसरी शुरु गर्नु भयो  ?

-सानै उमेरमा मेरो हातमा रमेश बिकलको (बिक्रम र नौलोग्रह) हात पर्यो । त्यो पुस्तकले मेरो बाल्यकालमा गहन छाप छोड्यो । पुस्तक पढेको कति दिन पछि सम्म पनि कसरी चन्द्रमा या मंगल ग्रहमा पुग्न सकिएला जस्तो लागिरहन्थ्यो । खै कसरी हो चन्द्रमामा टेक्न सकिन्छ जस्तो लाग्थ्यो । कालान्तरमा मोदनाथ प्रश्रीतको चोर नानी  उपन्यास पढें । यो उपन्यास पढेर धेरै पटक रोएँ पनि ।

म आफुलाई यस अर्थमा भाग्यमानी ठान्छु कि मेरो बसाई गाउँमा भएर पनि मैले सानै उमेरमा मधुपर्क, युवामन्च ,गरिमा जस्ता साहित्यिक पत्रीका पढ्न पाएँ । त्यतिबेला ताना शर्माले सम्पादन गर्नु भएको नेपाली पाठ्यक्रममा भएका राम्रा निबन्ध कथा नियात्राले पनि नजानिदो तवरले मेरो मन साहित्यतिर मोड्यो जस्तो लाग्छ । बहुदलिय ब्यवस्थाले ल्याएको खुलापनले देशमा अनेक खाले पत्रपत्रिका अस्तित्वमा आए । तिनैमा कतै गित कबिता लेखियो । कतै पाठक प्रतिक्रिया लेखियो ।त्यतिबेला को रेडियो नेपाल , हवाईपत्रीकाहरु पनि साहित्य यात्राका सहयात्री बने मेरो जिन्दगिमा ।

५ यहाँलाई जीवन के हो जस्तो लाग्छ  ?

-जीवन यात्रा हो । यात्रामा हिँड्दा अनेक मोड आउछन । अनेक अनुभुती हरु सँगालिन्छन । जिवन यात्रालाई अगाडि बढाउनु पर्छ जस्ता सुकै चुनौती अप्ठ्यारा र जटिलता किन नआउन । जिन्दगिको सबैभन्दा गहन पक्ष भनेको जस्तोसुकै परिस्थितिमा पनि खुशी खुशी हाँस्नु र बाँच्नु हो जस्तो लाग्छ ।

६ सबैलाई लकडाउन लाग्यो तपाईंलाई लक लाग्यो भन्न मिल्छ ?

सिंगो मुलुक लकडाउनमा गयो । पसल स्कुल अफिस कलकारखाना सबै बन्द भयो । कैयौ बर्ष देखि मेरो एउटा दैनिकी थियो । लकडाउनले मेरो लय खल्बल्याईदियो । मान्छे केही नगरी अडिन सक्दैन । म पनि कतिबेला फिल्म हेर्थें घरी टिभी त घरी पत्रपत्रिका पढ्थें । त्यतिमात्रले मन सन्तुष्ट भएन । किताब पढे हठात मैले केही लेख्ने प्रयास गरें । लेख्दै गएँ लेख्दै गएँ  एउटा किताब तयार भयो । लकडाउनका रुपमा छापियो पनि  पुस्तक प्रकाशन गर्ने मेरो बर्षौ देखिको रहर पनि पूरा भयो ।निसन्देह लकडाउन यस अर्थमा मेरो निम्ति फलिफाप नै भयो भनौ ।

७ तपाईं कुसल व्यपारी, पुर्णीमा साहित्यिक पत्रीकाको सम्पादक र एक कुसल लेखक पनि यिनी पाटाहरु लाई कसरी जोडेर लिनु भएको छ ?

-व्यापार मेरो कर्म हो । जिबिका चलाउने माद्यम हो । यसलाई पहिलो प्राथमिकतामा राखेको छु । पूर्णिमा पत्रीका धेरै युवाहरुको सपना हो । संयोगले मैले नेतृत्व गर्ने मौका पाएको छु । यश अर्थमा आफैलाई भाग्यमानी ठानेको छु । पत्रीकालाई निरन्तरता दिनुपर्छ भन्ने चिन्तन गर्ने मान्छे हुँ म। अहिलेसम्म पत्रीका टिकिरहेको छ , अझै गुणस्तरीय तरिकाले टिकाउनु पर्छ भनेर सोच्दासोच्दै पनि सकिने जति पनि गर्न सकिएको छैन । अनि रह्यो लेखकको कुरा  आफैलाई कुशल लेखक मान्दिन म । भर्खर त लेखन क्षेत्रमा पाईला सार्दैछु । म आफुलाई कहिल्यै पनि राम्रो लेखक ठान्दिन । मलाई आफ्नो सिमितता थाहा छ । यद्यपि मैले भन्न खोजेका वा लेख्न बाँकी धेरै कुरा छन  लेख्दै जाने छु ।

८ अब कुन विधामा नयाँ पुस्तक प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?

-अबको मेरो पुस्तक नियात्रा सँग्रह हुनेछ । किताबमाथी काम भैईरहेको छ । सकेसम्म नयाँ बर्षमा किताब निकाल्ने सोच हो । यो पुस्तक नेपाल बाहिर मैले पाईला टेकेको भुगोलको वर्णन हुनेछ । म विद्वान लेखक राहुल साँकृत्यायन बाट विशेष प्रभावित छु । वहाँ कुनै पनि यात्रीले आफुले घुमेका ठाउँ को बारेमा यात्रा सँस्मरण लेख्नु पर्छ भन्नुहुन्छ । त्यही सिको गरेको हुँ ।

९ साहित्यकार हुने नाममा कनिकुथी लेखेर नाम कमाउने र हल्लाबोल गरेर साहित्यकार बन्ने थुप्रै छन् यसले नेपाली साहित्यलाई कहाँ पुराउला ?

-लेखन कर्म सोचेजत्तिकै सहज र सरल कहिल्यै नहुँदो रहेछ । केही लेख्नु भन्दा पहिले पढ्नु पर्छ । जति धेरै अध्ययन भयो उति ज्ञान बढ्छ र कुनै पनि बिषयबस्तु बुझ्न सकिन्छ । हरेक बर्ष अनेक पुस्तक निक्लिन्छन । ती लाईब्रेरी पुग्लान , कैयौ पाठकका पुस्तक र्याकमा सजिएलान । केही पुरस्कृत पनि होलान । ती पुस्तकहरु केही बर्षमै बिर्सिईन्छन । पुस्तकको गुदि जति राम्रो हुन्छ त्यसको आयु पनि लामो हुन्छ । रहरमा लेखिएका किताबलाई समयले बिर्सिन्छ ।

१०  साहित्य कस्तो हुनुपर्छ भन्ने लाग्छ यहाँ लाई ?

-साहित्य जहिले पनि सत्यको पक्षमा हुनुपर्छ । न्यायको पक्षमा हुनुपर्छ । समाजका सल्बार्टन पात्रहरुको आवाज बोल्ने हुनुपर्छ । कसैको स्तुति र चाप्लुसिमा लेखिएको साहित्य आफै हराउँदै जान्छ । साहित्य जहिले पनि मानवताको पक्षमा , मिहिनेतकश जनताको पक्षमा हुनुपर्छ ।

११ पढाईमा पनि तपाईं अब्बल मान्छे सरकारी जागिर खान छोडेर तपाईंलाई व्यबसायमा लाग्न कुन बस्तुले अभिप्रेरित गर्यो ?

-पढाईमा म खासै अब्बल त होईन । म मिहिनेती र जिज्ञासु विद्यार्थी थिएँ र अहिले पनि छु । पढ्ने र सिक्ने प्रक्रिया जिवनभर चलिरहन्छ जस्तो लाग्दछ । म स्कुल छोड्ने बित्तिकै भिनाजुको पसलमा काम गर्न बसें । पसलमा काम गर्दै पढाईलाई अघि बढाएँ । जिन्दगिमा जागिर खाने रहर मनको कुनै कुनामा पनि थिएन । यद्यपि बुवाको आग्रहले गर्दा पढाउन भनेर म कालिकोट उक्लिएँ ।

कालिकोट ले मेरो किशोर सपनालाई रोक्न सकेन । म सरकारी जागिर खान भनेर होईन कि साथिहरुको लहैलहैमा लोकसेवाको परीक्षा दिन सुर्खेत पूगेँ । जागिर गर्नु थिएन सायद नाम पनि निक्लिएन । नाम ननिक्लिएकोमा कुनै पछुतो पनि लागेन । भिनाजुको पसलमा ११ बर्ष रहँदा धेरै कुरा सिकिएको रहेछ । सिधा भन्नू पर्दा पसलको सिकाई स्कुल र कलेजको पढाइ भन्दा धेरै माथिको र ब्यवहारिक रहेछ । त्यही सिकाईले मलाई ब्यापारमा स्थापित गरायो ।कलेजका सर्टिफिकेटहरु बाकसमा थन्किएका छन् ।

१२ तपाईंको आफ्नो पहिलो कृति लकडाउनको बारेमा केही भन्नू छ ?

-लकडाउन पुस्तक पूर्वनिर्धारित योजनाले निक्लिएको होईन । यो लकडाउनको फुर्सदिलो पलको उपज हो भन्छु म । लकडाउन बाट मेरा धेरै अपेक्षा पनि थिएनन । आफ्नै कथाहरु भन्ने प्रयास हो । एउटा लेखकको लागि उसको आफ्नै अलग शैली बन्नु जरुरी हुन्छ । मैले त्यही प्रयास गरेको हुँ । यो खासै महत्वपूर्ण कृति होईन यद्यपि जतिले पढ्नु भयो मनपराई दिनु भयो । म बसेको भुगोलमा अलिअली चर्चा पाएको हो । एउटा लेखकको नाताले खुशी पनि छु । दुखी यस अर्थमा छु कि अलिकती मेहनत गरेको भए कृति अझ राम्रो हुने रहेछ ।जहिले पनि सुधार गर्ने मौका बिद्यमान रहँदा रहेछन । हामी पुस्तक निकाल्न हतारिँदा रहेछौ । खुशी छु लकडाउन मेरो पहिलो कृति हो । कृति निकाल्ने क्रम बल्ल शुरु भएको छ ।

१३ अक्सर साहित्यकार हरुले धेरैको जीवनमाथी साहित्य सृर्जना गर्छन् र पैसा पनि कमाउ छन् पछि फर्केर आउदैदन् तर तपाईं ले आफ्नो कृर्तिमा मगर लाहुरे दाई ले समाजमा गर्नु भएको उल्लेखनिय योगदानलाई पात्रबनाएर उहालाई अमर बनाउनु भयो । साथै मगर लाहुरे दाईलाई पुस्तक बाट आएको पैसाले केही उपहार पनि दिनु भयो भन्ने सुनिन्छ कुरा केहो ? उपहार के दिनु भयो त ?

-हरेक लेखकहरु मनभित्र अनेकन घाउहरु बोकेर हिंडिरहेका हुन्छन । मनभित्र उफान ल्याउने अनेकन बिषयबस्तुलाई समेटेर सर्जकहरुले अनेकन पुस्तक सार्वजनिक गरेका हुन्छन । जब कुनै घटना या बिषयबस्तुले पाठकलाई छुन्छ तब त्यो कृति पनि प्रशँशित हुन्छ ।लकडाउनन मेरो अनुभुतिहरुको संगालो हो ।जहाँ म हुर्किएँ लाहुरे मगर त्यही भुगोलका जिवन्त पात्र हुन । म उनका अनेकन रुप र चमत्कार हेरेर हुर्किएँ । मेरो जिवनमा सबैभन्दा प्रभाब पारेका ती पात्र लाहुरे मगरलाई म चाहेर पनि बिर्सन सक्दिन ।

मेरो पुस्तकमा उनी रोल मोडल बनेर आएका छन ।लेखकले पात्र जन्माउछ सहयोग गर्दै हिँड्न सक्दैन । लेखक आफ्नो पात्र सँगै बसेर चियापान त गर्न सक्छ तर उनिहरुका भौतिक दुख कस्टमा अबिरल सहयोग गर्न सक्दैन । त्यसका वाबजुत पनि पुस्तकबाट आएको केहि पैशावाट उपहार किनेर मगर लाहुरे दाईलाई दिन मनासिब ठाने र दिए । 

१४ अन्तमा मैले सोध्न र तपाईंले भन्न खोजेका कुराछन् भने राख्न सक्नु हुने छ ?

-धिरेन जि तपाईं लगायत कुशे न्युज टिमलाई धन्यबाद छ । केही भन्ने मौका दिनु भयो । किताब निक्लिनु एउटा पाटो हो र त्यसको बारेमा धारणा राख्नु अर्को पाटो हो । मलाई लाग्छ साहित्यमा कला हुनुपर्छ । कलाले साहित्यलाई सिंगार्छ । तपाईंको टिम पनि कला साहित्यको उन्नयनमा उत्थानमा लागिरहेको जुटिरहेको देख्न पाईयोस । जुटिरहनु भएको छ । जहिल्यै गुणस्तरको लागि लड्नु होला । पहिचानको लागि लड्नुहोला ।