ह्यारिविरुद्ध आपत्तिजनक सामग्री फेसबुकले हटायो

काठमाडौँ, फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाएको छ ।बीबीसीले फेसबुकलाई यसबारे जानकारी पठाएपछि यस्तो गरिएको हो। बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन्।

फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ। यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने जानकारी गराएको छ ।मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम र दिशानिर्देश कति खोक्रो छन् र यसको पालनाका लागि उनीहरु शून्य बराबरको प्रयास गर्छन्।’

भारतसँगको नातामाथि प्रतिक्रिया

यी पेजमा कमला ह्यारिसमाथि तथानाम आरोप लगाइए जस्तै कि उनी अमेरिकी नागरिक होइनन् किनभने उनकी आमा भारतीय थिइन् र उनका पिता जमेकाका थिए। केही कमेन्टमा उनलाई ‘भारत डिपोर्ट गरिनुपर्ने’ पनि बताइयो।

अन्य थुप्रै मिम्समा उनको नामको मजाक उडाइयो। एक फेसबुक पेजमा चार हजार सदस्य थिए भने अर्कोमा १२ सय। थुप्रैपटक त्यसमा यौनजन्य र महिलाविरोधी सामग्री पनि देखियो जसलाई अब हटाइएको छ।

फेसबुकलाई उसको विज्ञापनदाता र नागरिक अधिकार समूहले लगातार घृणायुक्त सामग्रीलाई हटाउनका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाउने गर्छ। अगस्टमा सयौं कम्पनीले विरोधमा फेसबुकमाथि विज्ञापन दिन बन्द गरेको थियो।