कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् ।

‘खोप अन्य उपायका पूरक मात्र हो, तिनीहरूलाई प्रतिस्थापन गर्ने होइन’, प्रमुख डा गेब्रियससले भने, ‘खोप आफैले मात्र महामारीको अन्त्य गर्दैन ।’उनले सुरुवातमा पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, वृद्ध मानिस तथा बढी जोखिममा रहेका मानिसलाई खोप दिइने बताएका छन् । ‘त्यसले मृतक संख्या त घटाउला र स्वास्थ्य प्रणाली एकत्रित गर्न सकिएला’, डा। टेड्रोसले भने, ‘तैपनि भाइरस जहाँ पनि हुन सक्छ । त्यसैले निगरानी निरन्तर हुनुपर्छ, परीक्षण आवश्यक हुन्छ, अनि आइसोलेसनमा रहनैपर्छ ।’

गत वर्षको डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म करिब साढे ५ करोड मानिस संक्रमित भइसकेका छन् । जसमध्ये १३ लाख २३ हजार बढीले ज्यान गुमाइ सकेका छन् । ३ करोड ५२ लाख निको भएका छन् ।