श्रीमानले श्रीमतीमाथि गरे एसिड प्रहार
जनकपुर, जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० का सञ्जय आरतीकै श्रीमान भएको प्रहरीले जानकारी दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगरमा माईती घरमा बसिरहेका बेला शनिबार विहान आरतीमाथि एसिड प्रहार भएको स्थानीयवासीको भनाई रहेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एसिड हान्ने युवक उनकै श्रीमान भएको स्थानीयले बताएका छन् । आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको छ भने एसिड आक्रमण गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।
एसिड आक्रमणबाट आरतीको अनुहार र छाती पुरै डढेको छ । एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरी एक घण्टाभित्रै सञ्जीवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिए । आरतीको बिहे ३ वर्षअघि सञ्जीव संग भएको थियो । श्रीमानसँगको सम्बन्ध राम्रो नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन् । श्रीमान–श्रीमतीबीच खराब सम्बन्धकै कारण एसिड प्रहार भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।