मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, कोरोना संक्रमणबाट मोरङमा थप ५ जनाको मृत्यु भएको छ।३ जनाको नोबेल अस्पताल, एक जनाको विराट मेडिकल कलेज बुढीगंगामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको विहीबार बिहान ८ बजेतिर ज्यान गएको हो। कात्तिक ४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको प्रवन्धक नारायण दाहालले बताए।

सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको बिहान सवा ८ बजेतिर मृत्यु भएको छ। दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको बिहान ७ः३० बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको हो।

झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ। अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ।