जोखिम भत्ता नपाएपछि सात डाक्टरको सामुहिक राजीनामा

बुटवल, कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै जोखिम मोलेर काम गरिरहेका डाक्टहरुले नै भत्ता नपाएको गुनासो गरेका छन् ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत सात डाक्टरले कोरोना जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

सात डाक्टरहरुले कोरोना जोखिम भत्ता नपाएपछि राजीनामा समेत दिएका छन् । अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले जानकारी दिए ।
तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएको जनाइएको छ ।

डाक्टरहरुले राजीनामा दिएपछि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तर उनीहरु काममा फर्केका छैनन् ।लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले तिहारलगत्तै जोखिम भत्ता दिने अस्पतालले प्रतिबद्धता जनाए पनि मेडिकल अधिकृत काममा नफर्किदा सेवा प्रभावित भएको बताएका छन् ।

‘हामीले तिहार लगत्तै दिन्छौं भनेकै छौं तर उहाँहरु किन काममा फर्किन मान्नु भएको छैन फेरि आग्रह गर्छौ’, उनले भने । मेडिकल अधिकृतले काम छाडेपछि आईसीयूको उपचार सेवा प्रभावित भएको अस्पतालले बताएको छ । यस्तै मन्त्रालय र प्रादेशिक अस्पतालले आग्रह गरे पनि काम छाडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।