जो उज्यालो दिन निस्किएका थिए, आफै बादल बनेर निक्लीए

गोलीले छियाछिया शरीर बोकेका लोकेन्द्रको घतलाग्दोे कथा

हाे जिन्दगी एउटा उपहारमा आएको बित्त हो । जसलाई सार्थक काममा लगानी गरिनुपर्छ । तर जब सार्थक उदेश्यको लागि सार्थक काममा लगानी गरिदा पनि जिन्दगीको प्रतिफल निरर्थक निस्कन्छ, त्यहाँ भने लगानिकर्ताको लागि हिनता बोध र स्पष्ट अफसोच बाहेक अन्य केही रहदैन । अध्यात्मिक धारणालाई आधार बनाएर आँकलन गर्न खोज्ने हो भनेपनी थाहा छैन । कति जन्मको कठोर धार्मिक अभ्यासको प्रतिफल हो यो जीवन जुन आज पनि असफल अभ्यासमा तल्लिन छ ।  प्रकृतिले त रातपछी दिन र बादल पछि घाम सुनिश्चित गरिदिएको छ। तर कतिपय मानिसको जिन्दगीको रात भने कहिल्यै टुङ्गिएन । जो आफै उज्यालो दिन निस्किएका थिए। बादल कहिल्यै फाटेन जो आफै घाम बनेर चम्किन जागेका थिए ।

म कोहि राजनीतिक कथा लेखिरहेको छैन । बिशुद्ध व्यक्तिगत जिन्दगीको कथा लेखिरहेको छु । जुन राजनीतिक संघर्षबाट भने वास्तवमै प्रभावित छ। वि.सं २०३२ सालमा जन्मिएका उनि जाजरकोट जिल्लाको बारेकोट खण्डमा बसोबास गर्ने एक नयाँ युगिन स्वप्नदर्शी हुन । आर्थिक रुपले बिपन्न परिवारमा जन्मिएका तर परिवर्तनकारी बिचारहरुको धनी मस्तिष्क तथा सामाजिक व्यवस्थाको बिरोध गरि नयाँ व्यवस्थाको खाका तयार गर्न सक्ने दरिलो मुटु लिएर जन्मिए ।

शोषक र सामन्तीहरुको अधिनायकत्वको पुराना संरचना भत्काई नयाँ वैचारिक र व्यवहारिक व्यवस्थाको बिकास गर्ने महान सोच लिएरै जन्मिए बिकास रावत अर्थात लोकेन्द्र ।

उ बेलाको बारेकोट आजको गणतन्त्रिक मुलुकका परिवर्तित बस्ती जस्तो थिएन । राजा देशमा मात्र होइन गाउँ गाउँ टोल टोलमा पनि थिए । तर बिकास र सेवाको राजा होइनन् लुटतन्त्रलाई बिचार र शोषण दमनलाई व्यवहारमा बोकि सोझा सर्वहारा मज्दुर किसानको रगत चुस्ने परिजिवी राजा टोलैपिच्छे तमाम भेटिन्थे । जसका कुनै नीति थिएनन्, नियम थिएनन्। थिए त केवल आफ्नै पेट टन्न भरेर जुका जस्तै मोटाउने महत्वाकांक्षी राजा थिए।

औपचारिक शिक्षाको नाममा दुई कक्षा पास मात्र गरेका बिकास गरिब र गरिबी माथी हाँस्ने अनि तिनै बिपन्नलाई आफ्नो पोषणको रुपमा प्रयोग गर्ने समाजका धनिमानी पुँजिपती हरुको घिनलाग्दो व्यवहारबाट आजित भइसकेका थिए । उनी भित्र बैचारिक बिरोधाभाष हुन थालेकै थियो । धनिमानीहरुको व्यवहार प्रती। कुरिती र कुसंस्कारका चर्को कोलाहलबाट दिक्क भइसकेका थिए। उनी मौका खोजिरहन्थे ताकी कुरिती र कुसंस्कार अनि पुँजिपतिको अधिनायकत्वमाथी प्रहार गर्न सकियोस । उनको कलिलो उमेर जतिजति बढ्दै र परिपक्व हुँदै गयो उति उतीनै उनको सोचको बिस्तार भइरहेको थियो । अनि आक्रोशको सतह बढ्दै थियो, साथै बिरोधको अग्नि फैलिदै थियो। उनी केवल एक मौकाको खोजिमा थिए ।

उनमा क्रान्तिकारी बिचारको बिज हुर्किदै गएसँगै उपाएहरुको पनि खोजी गर्न थाले ताकी के कुराले समाजमा त्यस्तो परिवर्तन ल्याउन सक्छ जस्तो उनको चाहाना थियो। कुन माध्यमबाट समाजमा विद्यमान काला मुखुण्डाधारी संस्कार र शासनको छातिमा लात मार्न सकिन्छ भन्ने कुराको चिन्तन उनको मस्तिष्कमा अर्को एउटा संस्कार बनेर बसिसकेको बेला वि.सं २०५२ को तत्कालीन माओवादी पार्टिले शोषण र सामन्तवादको सफाया गरि नयाँ जनवादी व्यवस्थाको सुत्रपात गर्ने महान लक्ष्य सहित छेडेको जनयुद्ध नै उनका कुण्ठित बिचार र आक्रोशलाई तताएर बिस्फोट गराउन सफल प्रेरक माध्यम बन्यो । माओवादी पार्टीको सिद्धान्त, सरकार सँगको माग तथा उक्त पार्टीको एजेन्डा सबैले बिकास रावत उर्फ लोकेन्द्रका बिचारलाई नै पुर्ण रुपले गोडमेल गर्न सक्ने थिए। तब उनले समाजको परिवर्तन र सर्वहारा, मजदुर किसानको भविष्य अनि पुँजिपती शासक वर्गको अन्त्य तत्कालीन माओवादी पार्टिको पोल्टामा देखे र त्यतैतिर हानिए।

वि.सं २०५२ माघको जनयुद्ध घोषणा लगत्तै उनको पनि क्रान्तिकारी पार्टीमा सकृय सहभागीता रहन थाल्यो। गाउँदेखि राजधानी सम्म, समाज देखि देशसम्म सबैलाई टम्मै ढाकेको कुशासन र कुव्यवस्थाको बादल लाई भौतिक र बैचारिक युद्ध द्वारा धोएर देशको भविष्य चम्काउने यात्रामा उनी पनि लागेकै हुन। संगठनको निर्देशनमा समाजका काला धमिला तथ्य हरुको बिरोध गर्दै र नयाँ बिचार अनि व्यवस्थाको प्रचार गर्दै राष्ट्र निर्माणको रक्तपातयुक्त अभियानको तालमा ताल मिलाउँदै बढिरहेको बेला सरकारका मान्छेहरु द्वारा उनिमाथी प्रहार भयो। हुनत युद्ध न हो प्रहार गरिनु पनि नौलो र अनौठो थिएन। उनको युद्धको अर्ध सहभागीतालाई पुर्ण सहभागीता र भुमिगत युद्धमा परिणत गर्न बाध्य बनायो ।उतिबेलाको चरम परिस्थितिले २०५७ को पुस ११ गते रामिडाँडाको प्रहरीले उनकै छिमेकी गाउँको सेरोफेरोमा गोलि हाने। तीन राउन्ड गोलि चलाइदा पनि संयोगवस उनी भागेर बाँच्न सफल भए र रुपान्तरणको यात्रामा काँधमा काँध मिलाउने थप समय पाए।

त्यतिन्जेलसम्म आफ्नै घरमा बसेर आफ्नै परिवार र दाजुभाइसँग सहकार्य गर्दै क्रान्ति लाई मलजल गरिरहेका थिए तर जब उनलाई गाउँमा आफू सुरक्षित छैनँ भन्ने पक्का भयो । तब जोखिमको जञ्जालमा फसेको जिन्दगीलाई पुर्णतः देश र जनताकै नाममा गरेर घर व्यवस्था सबै परित्याग गरि औपचारिक युद्धमा लम्किए । अब उनी केवल बैचारिक संघर्ष मात्र होइन भौतिक संघर्ष पनि गर्ने भैसकेका थिए । सर्वहारा र मजदुर किसानको निम्ति भोक प्यास र घाम पानी सहन मात्र होइन संगिन सहितको राइफल भिरेर रगतको होलि खेल्न निस्केका थिए । मार्न निस्केका थिए अनि मर्न निस्केका थिए। उनको रक्तिम क्रान्तिको यात्रा जाजरकोट, रुकुम, रोल्पा हुँदै अछामसम्म पुगेर रोकियो। 

जनयुद्धको भयंकर अग्निमा होमिएपछी कलाकार हुँदै जनमुक्ति सेनाको सेक्सन कमान्डरसम्मको जिम्मेवारी सम्हाल्दै गर्दा कयौंपटक कयौं युद्धमा प्रत्यक्ष सहभागी भएका थिए उनी । देश र जनताको हित अनि सुव्यवस्थाको सुत्रपात गर्न हेतु आफ्नो शरीरको थोपा थोपा रगत देशकै माटोमा सिंचन गर्न उत्साहित भएका लोकेन्द्रलाई न त पारिवारिक जिवनको मायामोह थियो न त मृत्युको भयनै। शिरमा रातो पहेंलो गुथेर हतियार युद्ध द्वारा समाजका खियाहरु माझ्नमै तल्लीन भएको बेला अछाममा उनलाई गोलि लागेर घाइते हुन पुगे। वि। सं २०५८ तिरको उक्त घटना बाट उनको भौतिक क्रान्तिमा हदैसम्मको व्यवधान उत्पन्न भैदियो।

अछाम स्थितको युद्धबाट पुर्णतः घाइते भएका बिकास सहित उनका अन्य साथीहरूलाई पार्टीले उपचारको निम्ति भारतको नखनौँ पुर्‍यायो। उपचार सुरु हुनसम्म पाएको थिएन दुर्भाग्यनै भन्नुपर्छ भारतीय सुरक्षाबलले समेत घाइते लडाकुलाई गिरफ्तार गरि श्री ५ को सरकार समक्ष पेश गरि मित्रतामा बफादारिता प्रदर्शन गर्‍यो । अंगभंग भएका बिकासका करिब ६ जना साथीहरु उक्त गिरफ्तारीमा परे तर बिकास लगाएतका अन्य केही हातखुट्टा सग्ला भएका लडाकु त्यहाँबाट पनि भागेर पार्टिको सुरक्षा घेरामा पुग्न सफल भए। फलस्वरूप उनको शरीरमा रहेका बुलेटहरु शरिरमै डेरा जमाउन पाउने भए।

रक्तपातपुर्ण बीभत्स युद्धको भुमरीमा परेपछि जिवनको आधा हिस्सा सम्म गुमाइसकेका बिकास रावत उपचार गर्न नपाएरै फर्किएपछि फेरि पनि उनिमा साहसको स्तर कम भएन अनि बिचारका लहरहरु रोकिएनन। तत्पश्चात पनि उनी जिर्ण शरीर लिएर त्यतिबेला सम्म युद्धमा जिवनको बाजि लगाइरहे जतिबेलासम्म युद्धबिराम भएन। तत्कालीन ने।क।पा माओवादीको भौतिक क्रान्ति भित्र उनले साच्चिकै परिवर्तित जनवादी गणतन्त्रको मानचित्र देखेका थिए र त्यसलाई कार्यान्वयनमा ल्याउनपनि उनी दौडिरहे, रगत बगाइरहे अनि बलिदानिको निम्ति तत्पर रहिरहे। काला कानुनहरुका ढड्डा च्यातेर नयाँ बिधानको पृष्ठभुमिमा सुनौलो रंग पोत्ने उनको रहर लाई भने उनको शरीरभरी अधिपत्य जमाएर बसिरहेका त्यति धेरै गोलिहरुले पनि रोक्न सकेनन् । अन्ततः उनी र उनिजस्तै हजारौं दृढ निश्चयी र स्वप्नदर्शी हरुको सग्लो प्रयासबाट देशले गणतन्त्र पाएरै छाड्यो।

नयाँ बिधानको निर्माण भयो। रक्तपातको मार्गबाट गुज्रिएको र बम बारुदको कोलाहलबाट थाकिसकेको देश सान्ती पाएपछी मधुर मुस्कानको साथ सुस्ताउन थाल्यो। जनताको जीवन फेरिए अनि राज्यका दिन फेरिए तर बिकास उर्फ लोकेन्द्र आजपनी उस्तै छन । उनी सँगै युद्धमा हातेमालो गरेका केहि क्रान्तिकारी आज देशका मन्त्री सम्म बनिसकेका छन । तर उनको जिर्ण भैसकेको शरीरले आजपनी तिनै गोलिको बोझ बोकेर जनयुद्धका कहालीलाग्दा दिनलाई सम्झिदै बाकी जिन्दगी गुजारीरहेका छन । उनी र उनिजस्तैको रगत पसिनाले लेखिएको बिधानले उनिलाई भने सान्ती दिन सकेन बरु गणतन्त्र नेपालको दिनप्रतिदिनको ऋणात्मक भौतिक र मानवीय उपलब्धिले असान्त बनाइरहेको छ। जनयुद्ध ताकाको गोला बारुदको आवाज र घाइतेहरूको चित्कारले भन्दा आजको राजनीतिक, आर्थिक र सामाजिक परिवेशले असान्त बनाइरहेको छ भने उनका शरीरमा रहेका अनगिन्ती छर्राहरुले सुस्ताउन दिने त झन प्रसंगनै उठ्दैन।

आज छियाछिया भैसकेको शरीरले भारी बोकेर, ज्याला मजदुरी गरेर अनि पशु बस्तु पालेर दैनिक गर्जो टार्नुको साथै छोराछोरीलाई पढाउनेसम्म हम्मेहम्मे परिरहेको बेला शरीरमा भएका ती बुलेटहरु झिक्ने कुरा त उनी सोच्नैसम्म पनि सकिरहेका छैनन्। दुर्वल आर्थिक अवस्थाले उनलाई बुलेटमुक्त भएर हल्का हुन दिदैन अनि बुलेटयुक्त शरीरले अर्थतन्त्र सुधार गर्न दिदैन । यसैबीच पेलिएर बसेका छन उनी। दिनभर काम गरेपछि राती उनको शरीर असह्य हुनेगरी दुख्छ तथापि विकल्प पनित केही छैन।

काम नगरे पेट भरिन्न अनि आफू एकलै पनि त छैन। परिवारलाई पनि पाल्नै पर्‍यो र छोराछोरी लाई पनि युग अनुसारको शिक्षा दिनै पर्‍यो। कहिंकतै बाट कोहीको सहयोग पाएर बुलेट झिक्न पाए जिन्दगी केही सहज हुनेथियो भन्ने उनको भनाइ छ। उनी आज अत्यन्त पिडित छन बुलेटको कारण अनि अझै पिडित छन उनको सपना र बलिदानिले पुर्ण रुपमा मुर्तता पाउन नसकेको कारण। क्रान्तिमा लागेका केही अवसरवादी र सिद्धान्त प्रती पुर्ण समर्पित भएर नलाग्ने दुमुखे मानिसहरूको प्रचुरताको कारण क्रान्ती तुहियो भन्ने उनको ठम्याइ पनि छ। साच्चिकै आज न त उनको जिन्दगीको लगानी सार्थक भयो न त हजारौं युवाको रगतलेनै सहि अर्थ पाउन सक्यो।

दाह्रा किटेरै कटिरहेका छन उनका दिनहरु। उनको शरीरमा त्यसरी गोलिहरु बसिराखेर जिन्दगी कठिन बनाइरहेको बेला त्यसको उपचार गर्न न त संगठनले वास्ता गरेको छ न त सरकारलेनै । न त कोहि संघसंस्थाको नजर उनको जिर्ण शरीरमा परेको छ न त उनी स्वयंलेनै उपचार खर्च जोहो गर्नेसम्मको क्षमता छ। देश बदल्ने सपनाको धनी उनी आज आफ्नै जीवन नराम्ररी बद्लिएको केवल लाचार भएर टुलुटुलु हेर्न बाध्य छन। कुशासनको कालो हटाउने यात्रामा पाएको परिणामले उनको जीवन कालो त बनायोनै तर कतै उनका सन्ततिलाई पनि त्यही कालोले आफुभित्र समेट्ने त होइनरु कुरा बिचारणिय छ। संगठन, सरकार, तथा संघसंस्था हरुको नजर एकपटक उनी र उनि जस्ता व्यक्तिहरु तर्फ पनि जावस जो आजपनी देशमा सयौं हजारौंको संख्यामा छन। अन्यथा इतिहासको सुनौलो पानाभित्र फेरि बेचैनी र छट्पटीका ठुला तर कुरुप अक्षरहरु कोतिन बेर लाग्ने छैन। बिकास जस्ता व्यक्तिहरुको जैविक शरीर नष्ट भएको बेला त्यहाँभित्र विद्यमान अजैविक असंख्य बुलेटहरुले जल्न दिने छैनन्। अनि अस्थी बगाउने नदिको पानीले सम्म उनको जलिरहेको मनलाई सितलता दिन सक्ने छैन। बरु फेरि जन्मिन सक्छ अर्को एउटा जनयुद्ध।