वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा
प्रकासित मिति : २०७७ कार्तिक २०, बिहीबार ०९:१६
प्रकासित समय : ०९:१६
काठमाडौँ, वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।
पत्रमा अस्पतालले दशैँको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ। साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ। महामारीका बीच निरन्तर सेवामा खटिँदा पनि अस्पतालबाट हुने यस्तो व्यवहारले मनोबल गिरेको उनीहरूले बताएका छन्।
साथै, काममा आवश्यक पर्ने स्वास्थ्य सामग्री पनि अस्पतालले पर्याप्त उपलब्ध नगरेको उनीहरूको गुनासो छ। राजीनामा दिने १६ जना नै आकष्मिक विभागमा खटिएका मेडिकल अधिकृत छन्।