काठमाडौंमा थपिए १,३९८ जना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३९८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस संक्रमित छन् भने २५९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको नमुना परीक्षणमा १,२०९ महिला र १,८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ३,४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । आज देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन् ।नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो (बुधबार) कोरोनाबाट ३० जनाको मृत्यु भएको थियो ।