भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा

काठमाडौँ,भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।भारतीय वायु सेनाको विमानमार्फत उनी त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका हुन् ।

सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा नरवाणेको स्वागत गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।नेपाल भ्रमणमा रहेका नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने छन् ।

उनले बिहीबार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ ।भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो ।त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।