अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडेनलाई सुरूवाती अग्रता

वासिङटन, विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्। यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पले २ वटा राज्यमा अग्रता लिएका छन्। अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ। मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको छ।

संसारको ध्यान अमेरिकामा

कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।

सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।

तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ ।

त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ ।

त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ । आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् ।

ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ । निर्वाचनको परिणामले रिपब्लिकन र डेमोक्र्याट पार्टीको वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ । तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन भएको हो ।

सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।