बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हाे ।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर-१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो। योसँगै बाँकेमा बाहिरी जिल्लबाट उपचारका लागि गएर मृत्यु हुने संक्रमितको संख्या २० पुगेको श्रेष्ठले जानकारी दिए ।