पूर्व राज्यमन्त्रीसहित १० जना जुवाडे जुवा खालबाट पक्राउ

काठमाडौं, प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुका वृत प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।

जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए । उनी हालसम्म तीन पटक राज्य मन्त्री भएका छन् ।

२०५२ सालमा शेरबहादुर देउवाको पालामा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा र २०६८ सालमा डा बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए । विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन् ।