कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुने, यी हुन् नयाँ बन्ने मन्त्री

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन  । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी रहेकाे स्राेतले जानकारी दिएकाे  छ ।

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन ।

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

ओली पक्षका दुई मन्त्री हटाइँदै

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने बताइएकाे छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी रहेकाे छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

सामाजिक विकास मन्त्री रावलले गरे यस्तो घोषणा

मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणी छु ।’