अस्पतालको लापरबाहीले आमा-बच्चाको ज्यान गएको आरोप

बुटवल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ ।

गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको अस्पतालको लापरबाहीले ज्यान गएको मृतकका आफन्तले बताएका छन् । सुत्केरी ब्यथा लागेर बिहीबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुगेकी महिलाको बिहीबार साँझ मृत्यु भएको हो ।

मृतक गीताका देवर युद्ध पुरीले अस्पतालको लापरबाहीले बच्चा र आमा दुवैको ज्यान गएको बताए । साँझ ७ बजे बच्चाको मृत्यु भएको चिकित्सकले बताएपछि त्यसको २ घण्टा पछि आमाको पनि मृत्यु भएको चिकित्सकले आफन्तलाई जानाकारी गराएका थिए ।

‘नर्मल डेलिभरी हुन्छ भनेर राखियो । ४ बजे सम्म प्यासेन्ट ठिक थियो । तर पछि एकाएक आमा र बच्चाको ज्यान गयो । यस्तो कसरी हुन सक्छ,’ उनले भने ।