बाँके प्रहरीको ‘स्टिङ’ अपरेशन- २९ लाख नगद सहित १० जुवाडे पक्राउ

नेपालगन्ज, बाँके प्रहरीले गयराती नेपालगन्जबाट लाखौ रकम सहित दशजना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलि रहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक रानाले बताए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलि रहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजना सहित अगाडी बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि चालेको यो पहिलो ठुलो कारवाही हो ।