रामारोशन गाउँपालिका उपाध्यक्ष रावलद्धारा गाउँपालिका कार्यालयमा तालाबन्दी

अछाम, अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले गाउँपालिका कार्यालयमा वुधवारतालाबन्दी गरेकी हुन्।

उपाध्यक्ष सरस्वती रावलले विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको जानकारी दिएकी छन्। गाउँपालिका नीतिअनुसार नचलेको र आफ्ना अधिकार समेत खोसिएकाले आफूले तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले स्थानीय सरकार ऎनविपरीत रुपमा उपाध्यक्षको अधिकार समेत खोसेको आरोप लगाएकी छन्।

उपाध्यक्ष रावलले गाउँपालिकाले गरेका नियुक्तिदेखि अनुगमनसम्मका काम कारवाही आफ्नो अनुपस्थितिमा गरिएको दाबी गरेकी छन्।  गाउँपालिकाका अध्यक्ष झङ्कर साउद र उपाध्यक्षको लामो समयदेखि विवाद छ। दुवैजना तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।