चिनियाँ सहयोगमा पाकिस्तानमा गुड्यो मेट्रो रेल

एजेन्सी, चीनको सहयोगमा पाकिस्तानमा पहिलोपटक मेट्रो रेल सेवा सञ्चालनमा आएको छ। पञ्जाब प्रान्तको सहर लाहोरबाट व्यावसायिक रेल सेवा सुरु भएको हो।

चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको रूपमा रेल सेवा सुरु भएको बीबीसीले जनाएको छ। यो करिब ३०० अर्ब रुपैयाँको परियोजना हो।

२७ किलोमिटर लामो रेलमार्गमा दुई दर्जनभन्दा बढी स्टेसन छन्। मेट्रोमा यो दूरी करिब ४५ मिनेटको हो। रेल पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक करिब साढे दुई लाख मानिसले यात्रा गर्न सक्ने बताइएको छ।

रेलमार्ग निर्माणका लागि ५ वर्ष लागेको थियो। यस अवधिमा ७ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र रेल सञ्चालन तथा मर्मतका लागि यसले स्थानीयका लागि करिब दुई हजार रोजगारी सिर्जना गर्ने पाकिस्तान सरकारले बताएको छ।