जोखिमलाई मध्यनजर गरी परिवारमा सीमित रहेर दसैँ मनाऔँ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ-आफ्नो परिवारमा सीमित रहेर दसैँ मनाउन अपिल गरेका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसपटक कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका हुन  ।

मुख्यमन्त्री शाहीले कोभिड-१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताए । “आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायत कामहरु भएका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “नागरिकको जीवनरक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्‍ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”