प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : नेता रावल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थाई समिती सदस्य एवं सांसद डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् ।
बिहीबार नेता रावलले ट्विट गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँगको भेट कूटनीतिक मर्यादाविपरीत रहेको बताउँदै आपत्ति जनाएका हुन् ।
पूर्वरक्षा तथा गृहमन्त्री समेत रहेका नेता रावलले प्रधानमन्त्रीको रअ प्रमुखसँग वार्ता र भ्रमण आपत्तिजनक रहेको समेत टिप्पणी गरेका छन् ।
रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

