पम्पमा पेट्रोल खन्याउँदै गरेको ट्याङ्करमा आगलागी

रुपन्देही, रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगो लागेको छ ।

सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो । आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन् ।

सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । पेट्रोल पम्प तथा नजिकका घरहरुमा क्षति हुनबाट जोगाएको डीएसपी खत्रीले बताएका छन् । समयमै दमकलहरु आएर आगलागी नियन्त्रण भएकाले ठूलो दुर्घटना टरेको डीएसपी खत्रीले बताए ।