दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।
संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पार्टीको संसदीय दलमार्फत् सबै सांसदलाई दसैं भत्ता संसद सचिवालयलाई नै फिर्ता गर्न निर्देशन दिएका हुन्।
कोरोना महामारी र कतिपय सांसद चाडपर्व मनाउन उपत्यका बाहिर गइसकेकोले तत्काल संसदीय दलको बैठक राख्न सम्भव नभएपछि देउवाले उक्त निर्देशन दिएका हुन्।
कांग्रेस सांसदहरूले संसदीय दलमै छलफल गरेर सबै सांसदको भत्ता फिर्ताको निर्णय गर्नुपर्ने माग गरिरहेका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेकोबारे पार्टीका सबै सांसदहरुलाई जानकारी समेत गराइसकेको जानकारी दिए।
खाँणले आइतबार नै संसद सचिवालयलाई पत्र लेखेर भत्ता फिर्ता गर्ने जानकारी गराएका थिए।
कोरोना महामारीका बेला दसैं भत्ता लिनु उपर्युक्त नहुने पनि खाँणले बताएका छन्।प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए।